विशेष महत्वकासाथ हेरिएको ७ निर्वाचन क्षेत्रका निर्वाचन मतपरिणाम

काठमाडौँ – हाल नेपाल भर निर्वाचनको माहोल रहेको छ। मंसिर ४ गते भएको निर्वाचनको केहि स्थानमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना भइ सकेको छ भने अधिकतम स्थानको मतगणना भइ रहेको छ।

ठूला दलका शीर्ष नेताहरुको चुनावी मतपरिणामहरुमा सबैको चासो रहेको देखिन्छ। हामीले निकै महत्वका साथ हेरिएका क्षेत्रहरु मध्यका ७ क्षेत्रका निर्वाचन मतपरिणामहरु प्रस्तुत गर्ने प्रयास यहाँ गरेका छौँ। यो परिणाम यस समाचार बनाउँदै गर्दासम्मको मतपरिणाममा आधारित रहेको छ।

डडेल्धुरा क्षेत्र नं १
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र हो, डडेल्धुरा क्षेत्र नं १। यहाँ उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौति दिएका थिए। यस क्षेत्रको मतदानलाई देशभरका जनताहरुले विशेष महत्वका साथ हेरेका छन्। यहाँको अन्तिम मतपरिणाम आइसकेको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २५,५३४ मतले विजयी भएका छन्। उनलाई कडा चुनौति दिएका स्वतन्त्र उम्मेदवार सागर ढकाल १३,०४२ मतका साथ दोस्रो भएका छन्। यहाँ सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएर पनि प्राप्त गरेको मत परिणाम निकै सम्मान जनक रहेको यहाँका जनताहरुको भनाइ छ।

झापा क्षेत्र नं ५
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी रहेको क्षेत्र हो, झापा क्षेत्र नं ५। यहाँ हालसम्मको मतपरिणाम अनुसार ओलीको अग्रता रहेको छ। ओलीलाई पछ्याइ रहेका छन्, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारी। ओलीको ३९,०९७ मत आइरहँदा अधिकारीले १९,३८५ मत प्राप्त गरेका छन्। यसै गरी तेस्रो स्थानमा रहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुरेसकुमार पोखरेल। पोखरेलले ८,७३४ मत प्राप्त गरेका छन्।

गोरखा क्षेत्र नं २
जनताको चासो रहेको अर्को क्षेत्र गोरखा क्षेत्र नं २ रहेको छ। यहाँ सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उम्मेदवारी दिएका थिए। आफ्नो गृहजिल्ला त्यागेर गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका प्रचण्ड अत्यधिक मतका साथ शिर्ष स्थानमा रहेका छन्। प्रचण्डको हाल सम्म १७,७५३ मत रहेको छ भने उनलाई पछ्याइ रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीको केवल ५,९६७ मत ल्याएका छन्। यसै गरी तेस्रो स्थानमा रहेका नेकपा (एमाले)बाट उम्मेदवारी दिएका अब्दुससलाम मियाको ४,५९८ मत आएको छ।

रौतहट क्षेत्र नं १
रौतहट क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको उम्मेदवारी रहेको छ। यस क्षेत्रमा नेपालको अग्रता रहेको छ। नेपालले हाल सम्म १९,२१९ मत ल्याएका छन्। त्यसै गरी उनलाई पछ्याइ रहेका छन्, नेकपा एमालेका अजयकुमार गुप्ताले। गुप्ताको १४,२९७ मत रहेको छ।

इलाम क्षेत्र नं १
इलाम क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले उम्मेदवारी दिएका थिए। निकै चासोका साथ हेरिएको यस क्षेत्रमा भने झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत भन्दा पछि परेका छन्। खनालले ८,७८० मत ल्याइ रहँदा बस्नेत १०,२८७मत सहित अग्र स्थानमा रहेका छन्।

सप्तरी क्षेत्र नं २
सप्तरी क्षेत्र नं २मा दुइ पार्टीका अध्यक्षहरुको प्रतिस्पर्धा देखिन्छ। यहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका चन्द्रकान्त (सीके) राउतले चुनौति दिएका थिए। पछिल्लो मतपरिणामलाई हेर्दा राउत शीर्ष स्थानमा रहेका छन् भने यादव दोस्रो स्थानमा रहेका छन्। राउतको २९,२७२ मत रहेको छ भने यादवले १४,६०२ मत प्राप्त गरेका छन्।

झापा क्षेत्र नं ३
झापा क्षेत्र नं ३ मा राप्रपा र नेपाली कांग्रेसबीच भिडन्त भइ रहेको छ। राप्राका तर्फबाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको उम्मेदवारी यहाँ रहेको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको उम्मेदवारी रहेको छ। यहाँ लिङ्देनको अग्रता रहेको छ। लिङ्देनको १८,१३४ मत आइ रहँदा सिटौलाको १५,४२७ मत रहेको छ।

Share post:

Recent