बझाङ – प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी बझाङबाट विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार जोशीले एमालेका ऐन महरलाई ९९८ मतान्तरले पराजित गरेका हुन्।
जोशीले २८ हजार १४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत मात्र पाए। २०४८ मा बझाङ – १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका जोशी २०५१ प्रतिनिधिसभा सदस्य बनेका थिए। २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यमा पनि उनी निर्वाचित भएका थिए।
२०४७ नेकपा मालेको जिल्ला पार्टी सचिव भएका उनी २०४७ नेकपा एमाले जिल्ला पार्टी सचिव बने। २०५२ देखी अञ्चल समन्वय कमिटीमा सदस्य हुँदै २०५९ एमाले केन्द्रीय कमिटी वैकल्पीक सदस्य भए। २०६५ साल एमाले केन्द्रीय सदस्य भएका जोशी अञ्चल समन्वय कमिटी इन्चार्ज पनि भएका थिए।
२०७५ जेठ ३ नेकपाको केन्द्रीय सदस्य र सुदूरपश्चिम सहइन्चार्ज भएका उनी हाल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य छन्।