काठमाडौँ – कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा बिहीबार पोर्चुगलले घानामाथि ३-२ को रोमाञ्चक जित निकाल्दै कतारमा जारी फिफा विश्वकपमा सुखद सुरुवात गरेको छ।
कतारको रंगशाला ९७४ मा भएको खेलमा १ गोल गरेका रोनाल्डोले उक्त गोलसँगै विश्वकपको फरक ५ संस्करणमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान बनाएका छन्। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जाओ फिलिक्स र रफाइल लियोले १- १गोल गरेका तिए। घानाका एन्ड्री अयेउ र ओस्मान बुकारीले गोल फर्काएका थिए।
खेलको ६३औँ मिनेटमा घानाका मोहम्मद सालिसुले रोनाल्डोमाथि १८ यार्ड बक्सभित्र फाउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो। जसमा रोनाल्डोले कुनै गल्ती गरेनन्।
रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता बनाए पनि ७३औँ मिनेटमा अयेउले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए। त्यसको ५ मिनेटपछि फिलिक्सको गोलमा पोर्चुगलले पुनः खेलमा अग्रता बनाएको थियो। ८०औँ मिनेटमा लियोको गोलमा पोर्चुगलले अग्रतालाई ३-१ को अवस्थामा पुर्याएका थिए।
तर, खेलको ८९औँ मिनेटमा घानाका बुकारीले गोल गर्दै अग्रतालाई ३-२ मा झारेपछि खेल रोमाञ्चक बनेको थियो।
जितसँगै ३ अंक जोडेको पोर्चुगल समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको छ। समूहमा समान १ अंक जोडेका दक्षिण कोरिया र उरुग्वे क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यस्तै, अंकविहीन घाना भने तालिकाको पुछारमा पुगेको छ।