काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ। कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचे जस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएका छन्। गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेका हुन्। टेलिफोन कुराकानीमा दाहालले ओलीलाई वाम एकताको पक्षमा उभिन आग्रह गरेका थिए। जवाफमा ओलीले सहकार्यको सम्भावना कस्तो छ भन्ने जिज्ञासा राखेको बुझिएको छ। ‘दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको छ, सम्भावित सहकार्यबारे कुराकानी भएको छ’, माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने। ओलीले माओवादी अध्यक्ष दाहालले वाम एकताका पक्षमा उभिन गरेको आग्रहलाई सकारात्मक मानेको बताइएको छ।
अहिलेसम्म घोषित निर्वाचन परिणाम अनुसार सत्ता गठबन्धनबाट कांग्रेस अग्रस्थानमा छ। कुनै पनि दलको बहुमत नआएको अवस्थामा कांग्रेस फेरि पनि वामपन्थी दलहरूसँग मिलेर सरकार बनाउने प्रयासमा छ। तर माओवादीका धेरै नेताले चुनावमा पराजय भोगेसँगै कांग्रेससँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा अनौपचारिक बहस थालेका छन्। सत्ता गठबन्धनमै रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वाम एकताको विषय उठाएका छन्।
ओलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि टेलिफोन गरेर बधाई दिएका छन्। त्यसक्रममा उनले देउवालाई परिवर्तनका संवाहक पक्षहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
एमालेले प्रत्यक्ष निर्वाचनतर्फ ४५ र समानुपातिकतर्फ कम्तीमा ३० सिट पाउने अनुमान गरिएको छ। निर्वाचनबाट वामपन्थी दलहरूमा एमाले सबैभन्दा ठुलो दल बन्ने संकेत देखिएको छ। माओवादीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ देखि ३० सिट जित्ने विश्लेषण हुन थालेको छ। एमालेबाट विभाजन भएर बनेको नेकपा एसले पनि प्रत्यक्षतर्फ कम्तीमा १० सिट जित्ने अनुमान गरिएको छ। राष्ट्रिय जनमोर्चाले एक सिट जितिसकेको छ। वामपन्थी दलबीच सहकार्य भए मुलुकमा बलियो वामपन्थी शक्ति बन्ने देखिन्छ।
एमाले अध्यक्ष ओलीले अहिलेसम्म घोषित निर्वाचन परिणामका आधारमा सरकार बनाउनै गाह्रो, बनेमा टिकाउन गाह्रो हुने टिप्पणी गरेका छन्। उनले सरकार गठनका लागि कुनै दलको पनि बहुमत नपुगे थप विकृति निम्तिने पनि बताएका छन्। ‘सरकार बनाउन गाह्रो, बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो। मिलिजुली सरकार बनाउनेतिर देश गयो। हरेक सांसदको भाउ बढ्यो। राजनीति एकदुई महिना सरकार गठनको खेलमा लाग्ने भयो,’ ओलीले भने। ओलीले झापामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेसम्म घोषित चुनावी परिणामले कुनै पनि दलको बहुमत आउने नदेखिएकाले ‘भवितव्य’ले संसद्मा पुगेकाहरूको टाउको गनेर मोलतोल हुने बताएका छन्।
निर्वाचन परिणाम घोषणा हुने क्रमसँगै माओवादी केन्द्रका नेताबीच वाम एकताको विषयमा अलि धेरै चर्चा हुन थालेको छ। उनीहरूले कांग्रेसभित्रको आन्तरिक कलहले चुनावमा माओवादीलाई बेफाइदा पुगेको निष्कर्ष निकालेका छन्। चुनावअघि वर्तमान सत्ता गठबन्धन लामो समयसम्म कायम रहने भन्दै यसका पक्षमा मतदान गर्न शीर्ष नेताहरूले आग्रह गरेका थिए।
तर सत्ता गठबन्धनमा रहेका वाम दलले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि वाम गठबन्धन वा सहकार्यको विषय उठाएका हुन्।
नेकपा एसका अध्यक्ष नेपालले नतिजा सोचेजस्तो नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्। उनले आगामी सरकार कसको नेतृत्व बन्छ भनेर अहिल्यै भन्न नसकिने पनि बताएका छन्। रौतहटबाट निर्वाचित भएपछि नेपालले आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नतिजा नआएको र यसबाट शिक्षा मिलेको बताए। उनले निर्वाचन परिणामको मूल्यांकन गरी कमीकमजोरी सुधारेर अघि बढ्ने धारणा पनि राखे।
वामपन्थी दलहरूबीच पानी बाराबारको अवस्थामा ओलीले दाहाललाई फोन गर्नु र सम्भावित सहकार्यबारे जिज्ञासा राख्नुले संवादको ढोका खुलेको छ।
नागरिक दैनिकबाट