काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई पुन: सत्ता गठबन्धनमा फर्काउन पहल भइरहेको छ। निर्वाचन उम्मेदवारी मनोनयन दर्ताको केही दिन अघिमात्र जसपाले गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको थियो। अहिले जसपालाई पुन: सत्ता गठबन्धनमा फर्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफल चलाइ रहेका छन्।
गत मंसिर १३ गते माओवादी केन्द्रुका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव बीच लामो छलफल भएको थियो। छलफलमा जसपा अध्यक्ष यादव पनि सकरात्मक रहेको माओवादी स्रोतको भनाइ छ। नयाँ सरकार बनाउन सत्तारुढ गठवन्धनसँग पूर्ण बहुमत नहुनाले सत्ता समीकरणमा जसपालाई पनि सामेल गर्ने प्रयास गठबन्धनले गरेको छ।
तर गठबन्धनमा फर्किन अध्यक्ष यादव सकारात्मक रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत निकट सम्पर्कमा रहेका छन्। जसपाका एक नेताको भनाइ अनुसार जसपाले दुवै पक्षसँग वार्ता गरिरहेका छन्। जोसँग आफ्नो कुरा मिल्छ, मुद्दा र एजेण्डालाई जसले साथ दिन्छ उसैलाई सघाउने रणनिती जसपाको रहेको छ।