मोरङ – जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मंगलबार सुन्दरहरैंचा–१० का ७३ वर्षीय वृद्ध जयप्रसाद बास्तोलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आफ्नी श्रीमती जानुका बास्तोलासँगै घाँस काट्न जंगल गएका जयप्रसादलाई बिहान करिब ८ बजे हात्तीले आक्रमण गरेको जानकारी दिए। उनका अनुसार घाँस काट्ने क्रममा जंगली हात्ती देखापरेपछि आत्तिएका जयप्रसाद भाग्ने क्रममा लड्न पुगेका थिए। सोही क्रममा जयभन्दा अली दूरीमा रहेकी श्रीमती जानुका भने भागेर ज्यान जोगाउन सफल भएकी छिन्। भागेर ज्यान जोगाएकी जानुकाले गाँउमा पुगेर घटनाको जानकारी गराएकी थिइन्। त्यसपछि स्थानीय बासिन्दा जयप्रसादको खोजीका लागि जंगलतर्फ पुगेको प्रहरीले जनाएको छ। स्थानीयले खोजी गर्ने क्रममा जयप्रसादको शव सुन्दरहरैंचा–१० स्थित मुनालझोडा सामुदायिक वनभित्र दिउँसो १ बजेतिर भेटिएको प्रहरीले जनाएको छ।