भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ। भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर, ल्यापटप, सेल फोनलगायत उपकरण थप अनुसन्धानका लागि रोकेको विभागले जनाएको छ।

प्राधिकरणले ती सामग्री दूरसञ्चारको ट्राफिक अनुगमन र चोरी नियन्त्रणका लागि खरिद गरेर ल्याएको हो। प्राधिकरणले खरिद गरेर ल्याएका सामानमा १ सय ९ वटा सर्भर छन्।

खरिद गरिएका प्रतिसर्भरको मूल्य ७९ हजार ९ सय २० डलर भनिएको छ। एक डलरको सटही दर १ सय २८ रूपैयाँले हिसाब गर्दा एउटै सर्भरको मूल्य १ करोड २ लाख २९ हजार ७ सय ६० रूपैयाँ हुन्छ। १ सय ९ वटा सर्भरको कुल मूल्य १ अर्ब ११ करोड ५० लाख ५३ हजार हुन आउँछ।

त्यसैगरी दुईवटा ल्यापटप पनि खरिद गरिएका छन्। एउटा ल्यापटपको मूल्य ५० हजार डलर अर्थात् ६४ लाख रूपैयाँ देखाइएको छ।

प्राधिकरणले ती ल्यापटप भई ड्राइभ टेस्ट भएको जनाएको छ। त्यस्तै भन्सार विभागले रोकेका उपकरणमा आठवटा सेल फोन पनि छन्। एउटा सेल फोनको मूल्य २ सय डलर अर्थात् २५ हजार ६ सय रूपैयाँ देखाइएको छ।

प्राधिकरणले ती उपकरण ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमु परियोजनाअन्तर्गत खरिद गरेको हो। ती उपकरण भेनराइज सोलुसन कम्पनीले लेबनानबाट ल्याएको हो। ती उपकरणको भन्सार महसुल करिब पौने १५ करोड रूपैयाँ लाग्ने अनुमान छ।
नागरिक दैनिकबाट

Share post:

Recent