काठमाडौँ – ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौँ मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको छ। शुक्रबार सम्पन्न भएको ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा यस स्वीकृति प्रदान भएको हो । साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौँ मर्जर प्रयोजनका लागि डिडिएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १:१ स्वीकृत गरेको छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष ०७८/७९ को कुल मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष ०७८/७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड र करपछिको मुनाफा चार अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।
आर्थिक वर्ष ०७८/७९ मा बैंकको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा एक अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई चार अर्ब ९५ करोड पुगेको छ । हाल बैंकले दुई खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।