काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ।
उनले भने , “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन। प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ। त्यसपछि आवश्यक निर्णय गरेर सूची सार्वजनिक गरिने छ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताए।
गोरखापत्र दैनिकबाट