महाभियोग साथमै बोकेर फर्किए प्रधानन्यायाधिश, सर्वोच्चले गरेन बिदाइ कार्यक्रम

काठमाडौँ – निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा उमेर हदका कारण मंगलबारबाट अवकाशमा गएका छन्। उनी आज ६५ वर्ष पुग्ने भएका छन्। यसै कारण उनको कार्यकाल मंगलबारबाटै सकिएको हो।

नियुक्तिदेखि नै विवादमा परेका जबराविरुद्ध २१ वटा अभियोग लगाएर फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव गर्ने सांसदहरूको कार्यकाल सकिएर नयाँ सांसदहरू पनि आइसकेका छन्। तर, उनीविरुद्धको महाभियोग भने टुंगिएको छैन। यसै कारण उनी महाभियोग बोकेरै अवकाश भएका छन्।

उनले अन्तिम समयमा केहीदिन भएपनि सर्वोच्चमा फर्किएर सम्मानजनक बहिर्गमन चाहेका थिए। तर, उनको प्रयास असफल भयो।

संसद्को कार्यकाल समाप्त भएको र आफूविरुद्धको महाभियोग पनि निष्क्रिय भएको भन्दै उनले संसद् सचिवालयमा मंसिर २० गते निलम्बन फुकुवाको माग गर्दै पत्र लेखेका थिए। संसद्का महासचिव भरतराज गौतमले पनि निलम्बन फुकुवा भएको जानकारीसहित जबरालाई पत्र पठाएका थिए।

तर, ‍संसद्का महासचिवको पत्र कार्यान्वयनमा आएन। पत्रविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सर्वोच्च फर्किने जबराको चाहना अन्तिमपटक असफल भयो।

उनको अवकाशमा सर्वोच्चले कुनै बिदाइ कार्यक्रम गरेको छैन। जबराले उमेरहदका कारण मंगलबारबाट अनिवार्य अवकाश प्राप्त गरेका भएता पनि उनको बिदाइ सर्वोच्चले नगर्ने जानकारी सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले दिए।

जबरा २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। प्रधानन्यायाधी ओमप्रकाश मिश्रले २०७५ पुस १८ गते अवकाश प्राप्त गरेसँगै उनी प्रधानन्यायधीश भएका थिए।

Share post:

Recent