सत्ता समीकरणबारे एमाले-माओवादी केन्द्र सघन छलफलमा, ओलीलाई भेटे देव गुरुङले

काठमाडौँ – नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा माओवादी भने सत्ता समीकरणबारे छलफल गर्न एमालेसँग भेट गरिरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच छलफल भएको हो। देव गुरुङ मंगलबार राती एमाले अध्यक्ष निवास बालकोट पुगी ओलीसँग छलफल गरेका हुन्।

वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र भने पछिल्लो समय एमालेसँग सघन वार्तामा जुटेको छ। एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर जान दवाब दिइरहेका छन्।

गत सातामात्र एमाले पोलिटब्यूरोका सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर एमाले–माओवादी मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका थिए भने मंगलबार राती माओवादी केन्द्रका महासचिव गुरुङले अध्यक्ष ओलीसँग उस्तै प्रकारको छलफल गरेका छन्। ओली निकट श्रोतका अनुसार गुरुङले ओलीसँग वाम गठबन्धनको विकल्प नभएको र अहिले पनि सरकार गठनमा सहकार्य गर्न सकिने बताएका छन्।

स्रोतका अनुसार, दुवै पार्टीका दोस्रो तहका नेताहरुले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट गराउने तयारी गरेका छन्।

Share post:

Recent