काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका हुन्। आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो। देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने जानकारी प्रमुख आयुक्त थपलियाले दिए।
निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ। राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ।
आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन्।