काठमाडौँ – कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल खेलमा फ्रान्सले हराएपछि मोरक्कोका समर्थकले प्रदर्शन गरेका छन्। बेल्जियम र फ्रान्सका थुप्रै स्थानहरूमा मोरक्कोका समर्थकले उत्सव मनाइ रहेका फ्रान्सेली फ्यानहरूसँग झडप समेत गरेका छन्।
कतारमा विश्वकपको सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गरेको छ। मोरक्कोले विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग हार व्यहोरेपछि फाइनल खेल्ने र जित्ने सपना चकनाचुर भएको छ। विश्वकपको सेमिफाइनल खेलमा फ्रान्ससँगको हारलाई फ्यानले सहन सकेका छैनन्।
ब्रसेल्समा मोरक्कोका फ्यानहरू सडकमा उत्तेजित भएर आगजनी गरेका छन्। सो क्रममा उनीहरुको प्रहरीसँग झडप समेत भएको छ। ब्रसेल्सको साउथ स्टेसनमा मोरक्कोका फ्यानहरूले सवारीसाधनमा आगो समेत लगाएका छन्।
दङ्गामा उत्रिएका मोरक्कोका फ्यानहरूमाथि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेका थिए। त्यसपछि प्रहरीले पानीको फोहोरा पनि प्रयोग गर्नुपरेको थियो। प्रहरीले मोरक्कोका केही फ्यानलाई पक्राउ पनि गरेको छ। फ्रान्सको पेरिसमा समेत मोरक्कोका फ्यानहरूले हंगामा मच्चाएका छन्। त्यहाँका धेरै ठाउँमा फ्रान्स र मोरक्कोका फ्यानबीच भिडन्त भएको छ।
धेरै ठाउँमा हिंसात्मक झडप पनि भएको छ। भीडलाई तितरबितर गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रयोग गरेको थियो। फ्रान्सलाई मोरक्कोको संरक्षक मानिन्छ। फ्रान्समा ठूलो सङ्ख्यामा मोरक्कन प्रवासीहरू बस्छन्।