काठमाडौँ – कतार विश्वकपमा उपविजेता बनेको फ्रान्सेली टिम घर फर्किदा सेन्ट्रल पेरिसमा हजारौं समर्थकले स्वागत गरेका छन्।
केलियन एमबाप्पेसहितको फ्रान्सको टिम स्थानीय समयअनुसार सोमबार बेलुका ८ बजे मात्र चाल्र्स डी गाउले विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थलमा खेलाडी हर्षित मुद्रामा भने थिएनन्। समर्थकले ‘धन्यवाद’ तथा ‘पेरिस तिमीलाई माया गर्छ’ भनेर लेखिएका ब्यानर प्रदर्शनसहित स्वागत गरेका थिए।
कतार विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो। हारको थकान तथा निराश खेलाडीमा प्रष्ट देखिएको थियो। तर, स्वागतका लागि राखिएको बलसमा चडेर उत्साहित प्रशंसकहरू माझ पुगेपछि खेलाडीको मुहार उज्यालो बनेको थियो।
तथापि, टोलीले २०१८ मा विश्वकप जित्दाको जस्तो भब्य स्वागत भने पाएनन्। यद्यपि, स्वदेश फर्किंदा पेरिसको जाडोमा उनीहरूले न्यानो स्वागत पाएका थिए। खेलाडी र प्रशिक्षक डिडियर डेसच्याम्प्स होटल डे क्रिलनको बाल्कोनीमा देखा पर्दा आतसबाजी गरिएको थियो भने समर्थकले फ्रान्सका राष्ट्रिय झण्डा फहराएका थिए। त्यस्तै उनीहरूले ‘ला मार्सेइलाइस’ गीत गाएका थिए।
फाइनलमा निर्धारित ९० मिनेटको समय २-२ को बराबरीमा सकिएपछि खेल थप ३० मिनेट धेकेलिएको थियो। थपिएको समयमा दुवै टोलीले १-१ गोल गरेपछि नतिजा पेनाल्टी सुटआउटबाट आएको हो। अर्जेन्टिना र फ्रान्सबीचको फाइनललाई विश्वकपकै रोमाञ्चक फाइनलमध्ये एक मानिएको छ। यो फाइनल खेल फ्रान्समा २ करोड ४० लाखभन्दा धेरै मानिसले टेलिभिजनमा हेरेको बताइएको छ।