काठमाडौँ – भारतका कप्तान रोहित शर्माले बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाका क्रममा औँलामा लागेको चोटका कारण अबको ढाका टेस्ट गुमाउने भएका छन्।
दोस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा रोहितको औँलामा चोट लागेको थियो। उनलाई कम्तीमा दोस्रो टेस्टका लागि तयार पार्ने उद्देश्यले तुरुन्तै घर फर्काइएको थियो। रोहितको चोट निको भइसकेको बुझिए पनि भारतले अबका २ महिना खेल्ने तालिकालाई ध्यानमा राख्दै आराम दिइएको हो। उनको अर्को साता स्वास्थ्य परीक्षण हुने भनिएको छ।
भारतले आउँदो जनवरीमा श्रीलंका र न्युजिल्यान्डसँग समान ३ एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। सेतो बलको शृंखलापछि भारतले अस्ट्रेलियाविरुद्धको घरेलु मैदानमा फेब्रुअरी ९ देखि सुरु हुने चार टेस्टको शृंखला खेल्नेछ।
रोहित अनुपस्थितिमा केएल राहुलले भारतको कप्तानी गर्नेछन्। चेतेश्वर पुजारा उपकप्तान छन्। रोहितको अनुपस्थितिको अर्थ शुभमन गिलले ओपनिङमा केएल राहुललाई साथ दिनेछन्। भारतले १८८ रनको विजय हासिल गरेको पहिलो टेस्मा शुभमनले करियरको पहिलो टेस्ट शतक प्रहार गरेका थिए।
भारतीय टोली सोमबार बिहान ढाका पुगेको छ। भारतले मंगलबार र बुधबार २ प्रशिक्षणसत्र सञ्चालन गर्ने अपेक्षा गरिएको छ।