काठमाडौँ – बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन्। गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव सहज बन्दै गएको हो।
चाडपर्व र चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम फिर्ता हुन थालेको र रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेका कारण बैंकिङ प्रणालीमा भएको निक्षेप वृद्धिले तरलतामा सुधार देखिएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आइतवारसम्मको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थासँग ५२ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप छ। यसमध्ये वाणिज्य बैंकहरूसँग ४६ खर्ब २९ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब २५ अर्ब रुपैयाँ छ।
यसैगरी आइतवारसम्म बैंक, वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। यसमा वाणिज्य बैंकको अंश ४२ खर्ब १३ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थाको अंश ५ खर्ब ४६ अर्ब रुपैयाँ छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव ८६ प्रतिशत छ। बैंकहरूले ९० प्रतिशत सीडी रेसियोसम्म कर्जा दिन पाउने व्यवस्था भएकाले २ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्न सक्ने क्षमता रहेको पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन्।
पुसमा सरकारी ढुकुटीमा फिर्ता हुने रकम घटाउँदासमेत १ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंकिङ प्रणालीमा हुने भएकाले अभाव नहुने उनले दाबी गरे।
गोरखापत्र दैनिकबाट