काठमाडौँ – कतारमा विश्वकप सकिएको एक साता बित्न नपाउँदै क्लब फुटबलको गर्मी सुरु भएको छ। विश्वविजेता अर्जेन्टिनाका खेलाडीहरु जितको खुसियालीमा झुमिरहँदा अन्य देशका भने क्लब फुटबलमा फर्किसकेका छन्।
विश्वकपको फाइनल गुमाएको फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे पीएसजीको प्रशिक्षणमा फिरिसकेका छन्। उता ब्राजिलियन नेयमार पनि फ्रान्स पुगिसकेका छन्। समूह चरण र क्वार्टर फाइनलबाट बाहिरिएका खेलाडीहरु प्राय सबै क्लबमा पुगेर खेल्न थालिसकेका छन्।
यस्तै एउटा क्लब फुटबलको म्याच गएराति भएको छ। दुई ठूला इङ्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल गएराति काराबाओ कपमा भिडे। विश्वकपबाट क्लब फुटबलमा दर्शकलाई तान्ने गरी दुई ठूला क्लब भिड्दा सिटीले बाजी मारेको छ। लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइनलमा पुगेको छ।
सिटीले बिहीबार राति साविक विजेता लिभरपुललाई ३-२ गोलअन्तरले हराएको हो। प्रतिस्पर्धात्मक र रोचक यो भिडन्तमा निरन्तर उच्च लयमा रहेका इर्लिङ हालान्डले सिटीका लागि गोलको खाता खोलेका थिए।
उनले खेलको १० औँ मिनेटमा हेडमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। तर खेलको २० औँ मिनेटमा फाबियो कार्भाल्होले गोल गरेपछि लिभरपुल खेलमा फर्कियो। तर सिटी पहिलो हाफमा अझै आक्रमक बन्यो। उसले खेलको ४७ औँ मिनेटमा २-१ को अग्रता बनायो। उसका लागि रियाद महरेजले गोल गरेका हु्न्।
तर फेरि लिभरपुल खेलमा फर्कियो। उसका लागि खेलको ४८ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै खेललाई २-२ को बराबरी बनाउन सफल भए। तर फेरि सिटीले खेलमा अग्रता बनायो। उसका लागि खेलको ५८ औँ मिनेटमा डिफेन्डर नाथन एकेले गोल गरेर अग्रता ३-२ बनाउन सफल भए।
लिभरपुलका लागि नुनेजले केही गतिला अवसर खेर फाले। लिभरपुल यो सिजन प्रिमियर लिगमा पनि धेरै पछि परेको छ। लिभरपुललाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको सिटीले अब साउथह्याम्पटनसँग खेल्नेछ। सिटी यो सिजन उपाधि होडमा आर्सनलसँग प्रतिस्पर्धा गरिरहेको छ।