मकवानपुर – आगामी पुस १४ गते बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण हुने भएको छ। प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो। प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडाको परिसरमा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ।
बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम गर्ने निर्णय गरेको छ। जेष्ठ सदस्यको शपथ पश्चात अरु १०९ जना सांसदहरुलाई शपथ ग्रहण गराइने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।
जेष्ठ सदस्यको रुपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले जेष्ठ १३ गते दिउँसो २ बजे प्रदेश प्रमुख मार्फत शपथ ग्रहण गर्ने उनले बताए। जेष्ठ सदस्यको शपथको कार्यक्रम प्रदेश प्रमुख कार्यालय हेटौंडामा गरिनेछ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संसदीय समिति गठन लगायतका कार्यक्रम रहेकाले त्यसलाई प्रभाव नपर्ने गरी संसदको कार्यक्रम तयार गरिएको मन्त्री खनालले बताए।
प्रदेशसभाको पहिलो बैठक भने आगामी पुस १७/१८ मा राख्ने निर्णय भएको उनले बताए। प्रदेश प्रमुख कार्यालयसँगको सहकार्यमा सरकारले प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय बैठकले निर्णय गरेको हो। प्रदेशसभाको पहिलो बैठक बस्नु अघि कार्यव्यवस्था समितिको औपचारिक बैठक बस्ने र उक्त बैठकले प्रदेशसभाको पहिलो बैठकको कार्यसूची तयार गर्ने उनले बताए।
उनका अनुसार जेष्ठ सदस्य ढुंगानाले प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नेछन्।