काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी मसालले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुन नकपा एमालेसँग मिलेको भन्दै आपत्ति जनाएको छ। पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रधानमन्त्री हुन पाँच दलीय गठबन्धन तोडेर सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य गरेको ठहर गरेका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो कार्य जनतासित ठूलो धोका पनि हो। उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौं।’ उनले प्रधानमन्त्री बन्न प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित पनि गठबन्धन गरेको आरोप लगाएका छन्।
