काठमाडौँ – नयाँ सत्ता गठनबन्धले पाँचदेखि सातजना सांसदलाई आजै मन्त्री पदको शपथ गराउने तयारी थालेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५ देखि ७ जना मन्त्रीले शपथ ग्रहण गर्नेछन्। उनले पहिलो चरणमा केहि मन्त्रीले शपथ लिने र क्रमश: अन्य मन्त्रीले पनि शपथ लिने जानकारी दिए।
नयाँ सत्तासमीकरणको बैठकमा सहभागी भएर फर्किने क्रममा अध्यक्ष लिङ्देनले पत्रकारहरुलाई भने, ‘मन्त्रालय बाँडफाँटको बारेमा छलफल भइरहेको छ। आज प्रधानमन्त्रीसँगै ५/७ जनाले मन्त्री पदको शपथ लिदैहुनुहुन्छ।’
नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजे प्रधानमन्त्री प्रचण्डसहित केहि मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने छन्। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, एमालेबाट विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले मन्त्री पदमा शपथ लिने सम्भावना रहेको श्रोतले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रचण्डले समर्थन गरेपनि सरकारमा सहभागी नहुने बताएको छ। यसै गरी नागरिक उन्मुक्ति पार्टीले पनि रेमश चौधरीको रिहाइ नभएसम्म प्रचण्डलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ।