काठमाडौँ – नयाँ सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री बनाउने तयारी भएको छ।
काठमाडौंको बानेश्वरस्थित संसद् भवनमा जारी सत्तारूढ गठबन्धनमा रहेका सात दलको बैठकमा तीन वटा उपप्रधानमन्त्री बनाउने सहमति हुन लागेको विषेश श्रोतबाट खुल्न आएको छ। प्रमुख तीन पार्टीबाट एक–एक जना उपप्रधानमन्त्री बनाउने तयारी भइरहेको र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा आयो भने उपप्रधानमन्त्री थप्ने कुरा पनि भइरहेको श्रोतले जनाएको छ।
नेकपा (एमाले), माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री बनाउन लागिएको हो। एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र स्वतन्त्र पार्टीबाट रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउने विषयमा छलफल चलिरहेको छ।
सोमबार बिहान बसेको माओवादी सचिवालयले बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको थियो भने उनलाई उपप्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी दिन लागिएको छ।
त्यस्तै, स्वतन्त्र पार्टीले पनि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। उनलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल अझै जारी रहेको छ।
सत्तारूढ दलको बैठकबाट बाहिरिंदै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मन्त्रालयको विषयमा छलफल भइरहेको बताए। उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आज कति जनालाई मन्त्री बनाउने भन्ने विषयमा छलफल चलिरहेको तर टुङ्गो लाग्न बाँकी रहेको बताए।
सात पार्टी र तीन स्वतन्त्र सहित १६९ जना सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। त्यसअघि सत्तारूढले दलले मन्त्री टुङ्ग्याउने तयारी गरिरहेको छ।