काठमाडौँ – चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ।
अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो। इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ। निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए। विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उनले बताए। भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उनको भनाइ छ।
गोरखापत्र दैनिकबाट