काठमाडौँ- नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पाैडेल नियुक्त भएसँगै शेयर बजार उच्च अंकले उकालो चढ्न थालेको छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको सरकार ढलेसँगै र नयाँ अर्थमन्त्री पौडेल बन्छन् भन्ने चर्चा हुनासाथ सोमबारबाट नै शेयर बजार बढ्न थालेको थियो। सोमबार शेयर बजार करिब ५७ अंकले बढेको थियो भने मंगलबार ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेर बन्द भएको छ।
मंगलबार आज ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार नेप्सेमा २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। कारोबार भएका कम्पनीमध्ये २०२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको मात्र शेयर मूल्य घटेको छ।
आँधीखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र एनआइबिएल डिभेन्चरको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।
कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको काराेबार भएको छ। सर्वाधिक लक्ष्मी बैंक लिमिटेडको २० करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
त्यस्तै, नेपाल टेलिकमको १४ करोड २ लाख, हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख, नबिल बैंकको ११ करोड ३२ लाख र एनआइसी एसिया बैंकको १० करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ।