समाजवादी अहिले ‘वेट एण्ड वाच’को अवस्थामा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भइरहेको अवस्थामा नेकपा एकीकृत समाजवादी भने ‘वेट एण्ड वाच’को अवस्थामा रहेको छ। समाजवादीले सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमको आधारमा सरकारलाई समर्थन गर्ने वा नगर्ने भनी निर्णय लिने तयारीमा रहेको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धन छोडेर माओवादीले एमाले सहित सात दलको नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी अलमलमा परेको हो। एमाले, माओवादीसहितको सात दलको गठबन्धनमा जोडिन नसकेको एकीकृत समाजवादी प्रचण्डका भावी कार्यलाई हेरेर नजिक हुने वा टाढिने निर्णय गर्ने भएको हो समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

हमालले भने, “हामी अहिले ‘वेट एण्ड वाच’को अवस्थामा छौं। अहिलेको गठबन्धन कसरी अगाडि बढ्छ ? त्यसपछि मात्रै समर्थन गर्ने वा नगर्ने निर्णय हुन्छ। सरकारको गुण र दोषका आधारमा निर्क्यौल गर्छौँ।”

उनले थपे, “तत्काल एकता गर्नेभन्दा पनि आफ्नै पार्टीलाई बलियो बनाउँछौं। आवश्यकता र औचित्यका आधारमा एकता र ध्रुवीकरणमा जाने हुन सक्छ।”

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रचण्डसँग नजिक भएकाले सोमबार बेलुका र्कितिपुरमा रहेको पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्न पुगेका थिए। पुष्पलालको सालिकमा माल्यार्पण गर्नेक्रममा नेपालले प्रचण्डलाई स्वागत गर्नुका साथै बधाई शुभकामना समेत दिएका थिए।

Share post:

Recent