शेखर-गगन पक्षले केन्द्रीय समितिको बैठक अघि नै आफू पक्षीय नेताहरुको भेला डाक्ने

काठमाडौँ – नेपाली कांग्रेसको शेखर-गगन पक्षले केन्द्रीय समितिको बैठक अघि नै आफू पक्षीय नेताहरुको भेला डाक्ने भएको छ। उक्त पक्षको बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो।

‘आज सामान्य छलफल गर्‍यौं। केन्द्रीय समिति र प्रदेश समितिमा जितेका/हारेका सबैलाई बोलाएर अहिलेको समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ।’ बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने। यो समूहको बैठक केन्द्रीय समितिको बैठक अघि नै डाकिने छ। सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २२ पुसमा बस्ने गरि बोलाएका छन्।

आजको बैठकमा प्रदेशमा संसदीय दलको नेतामा उम्मेदवारी दिने वा कसलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो। प्रदेश संसदीय दलमा आफ्नो पक्षको उम्मेदवारका बारेमा निर्णय लिन प्रदेश सभापतिमा प्रतिस्पर्धा गरेका आफू पक्षीय नेतालाई जिम्मेवारी दिइएको छ। ‘हाम्रो पक्षबाट प्रदेश सभापतिमा लडेकाले त्यस प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर निर्णय लिन जिम्मेवारी दिइएको छ,’ नेता केसीले भने।

बैठकमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, रामकृष्ण यादव, सरिता प्रसाईं लगायत उपस्थित थिए।

Share post:

Recent