नेपालगन्ज उपमहानगरपालिका जयपुरकी २३ वर्षीया पूजा लोनिया गत पुस १३ गते श्रीमानको घरमा मृत फेला परेकी थिइन् ।एक छोरा र एक छोरीकी आमा पूजाको पाँच वर्षअघि जानकी गाउँपालिका–६ का राजकुमार लोनियासँग विवाह भएको थियो । पूजाका आमाबुवाले छिमेकी मार्फत उनको मृत्युको खबर पाए र राजकुमारको परिवारले दाइजोका लागि छोरीलाई यातना दिएर मारेको आरोप लगाए। दाइजोका कारण शारीरिक र मानसिक दुव्र्यवहारका कारण छोरीले आत्महत्या गरेको उनीहरुको दाबी छ ।
उनीहरुले श्रीमान् र ससुराविरुद्ध स्थानीय प्रहरी चौकी कोहलपुरमा उजुरी दिएका छन् । पूजाको पोस्टमार्टम रिपोर्टमा विष सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा घटना हुनुभन्दा २० दिनअघि नै आमाबुवाको घरबाट श्रीमानको घर फर्किइन् र दाइजोका लागि राजकुमारको परिवारबाट आफूमाथि भएको नियमित यातनाबारे अभिभावकलाई नियमित जानकारी गराइन् । अब उप्रान्त यातना नदिने सर्तमा उनी श्रीमानको घर फर्किइन् र राजकुमारले पनि दुर्व्यवहार नगर्न राजी भए । उनको श्रीमान् अहिले प्रहरी हिरासतमा छन् ।
केही महिनाअघि बाँकेको जानकी गाउँपालिकाकी गोदी बर्मा पनि मृत फेला परेका थिए । उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । तर, पीडितका आमाबुवाले श्रीमान्को परिवारले हत्या गरेको आरोप लगाउँदै परिवारविरुद्ध हत्याको उजुरी दिएका छन् । परिवारले दाइजोका लागि बारम्बार यातना दिएको उनका अभिभावकले आरोप लगाएका छन् ।