काठमाडौँ – यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ। पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा शव पोस्टमार्टम गर्न थालिएको गण्डकी प्रदेशका डिआइजी रामदत्त जोशीले जानकारी दिए।
सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने डिआइजी जोशीले जानकारी दिए। ‘सनाखत भएको शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउँछौँ’ डिआइजी जोशीले भने–‘शव पोस्टमार्टम सुरु भएको छ।’
पहिचान भएका र विदेशीको शव काठमाडौँ ल्याइँदै छ। घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन। सङ्कलन गरिएको ३९ शव परुषको र २५ शव महिलाको पहिचान भएको छ।
समाचार तयार गर्दासम्म ६८ जनाको शव भेटिएको छ। विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ। अहिलेसम्म २६ शवको सनाखत भएको छ।