कांग्रेस प्रधानमन्त्रीलाई नैतिक सङ्कटमा पारेर राष्ट्रपति लिने दाउमा छ : उपमहासचिव रिमाल

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक सङ्कटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन्।

उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले कांग्रेससहितका अन्य दलहरूसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताए। उनले सभामुख-उपसभामुख र राष्ट्रपति-उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लबिङमा कांग्रेस नेताहरू सक्रिय भइरहेको भन्दै नेपाली कांग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढिरहेको बताए।

उपमहासचिव रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गरे। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आबद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताए। उपमहासचिव रिमालले नेपाली कांग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समीकरणमाथि भाँजो हाल्ने प्रयास गरिरहेको आरोप समेत लगाए।

सभामुखको निर्वाचनमा यही माघ ५ गते हुँदैछ। उनले काँग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारी तन्त्रलाई र राज्यका अन्य निकायहरुलाई दुबिधामा पारिदिने ढङ्गले अघि बढिरहेको बताए। उपमहासचिव रिमालले नेपाली कांग्रेसले कुनै जालझेलपूर्ण रुपमा प्रधानमन्त्रीलाई समर्थन गरेको भए त्यो सफल नहुने पनि दाबी गरे। उनले आफू बाहेक अन्य दलहरूले संविधान नै बुझ्दैनन् भन्ने किसिमले कांग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको बताए।

उनले कांग्रेस राष्ट्रिय सहमतिको नाममा नक्कली कुरा गर्दै राष्ट्रपति आफ्नो पार्टीबाट बनाउनुपर्छ भन्दै हिँडेको बताए। उपमहासचिव रिमालले नेकपा एमालेबाट सभामुखका उम्मेदवार बन्नुहुनेका लागि मत माग्न नै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएको बताए। उनले वर्तमान सत्ता समीकरण देशमा स्थिरता दिनुपर्छ, अर्थतन्त्रलाई सुधार गर्नुपर्छ, सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा बनेको स्पष्ट पारे।

उपमहासचिव रिमालले नयाँ सत्ता समीकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुबिधामा पार्न काँग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गरे।

Share post:

Recent