चीनको अर्थतन्त्रमा कडा कोभिड नितिको प्रभाव

काठमाडौँ – गत वर्ष चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रो पटक सबैभन्दा सुस्त दरमा बढ्यो। यो देशको कडा कोरोनाभाइरस नियमहरूले व्यवसायहरूलाई कसरी असर गरेको छ भन्ने सङ्केत हो। आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठुलो अर्थतन्त्र सन् २०२२ मा तीन प्रतिशतको दरले वृद्धि भएको छ।

यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा निकै कम हो। यद्यपि, धेरै अर्थशास्त्रीहरूले चीनको लागि अझ कम वृद्धि दरको भविष्यवाणी गरेका थिए। गत महिना, चीनले आफ्नो कडा शून्य–कोभिड नीतिमा नरम देखाएको थियो।

चीनको यो नीतिले देशको आर्थिक गतिविधिमा ठुलो प्रभाव पारेको थियो तर कोभिड नियममा एक्कासि खुकुलो बनाउँदा कोरोनाका केस पनि बढेका थिए। जसका कारण सन् २०२३ को प्रारम्भिक महिनामा विकास दरमा पनि जोखिम बढ्यो।

गत वर्ष चीनको आर्थिक वृद्धिदर सन् १९७६ यताकै सबैभन्दा कमजोर थियो। अर्थशास्त्रीहरूले विश्वव्यापी अर्थव्यवस्थाको स्थितिलाई मध्यनजर गर्दै हालैको महिनामा चेतावनी दिइसकेका छन्।

गत हप्ता, विश्व बैङ्कले विश्वव्यापी अर्थतन्त्र ‘चिन्ताजनक रूपमा मन्दीतर्फ गइरहेको’ भनेको थियो।

यसको पछाडि युक्रेनमा रुसको युद्ध र कोरोना महामारीको प्रभावका साथै थुप्रै अन्य कारणलाई जिम्मेवार बताइएको छ।

Share post:

Recent