कर्णालीका मुख्यमन्त्री शर्माद्वारा आजै विश्वासको मत लिने तयारी

सुर्खेत – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार विश्वासको मत लिने तयारी गरेका छन्। संविधानको धारा १८८ बमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रावधान अनुसार शर्माले १० औं दिनमै विश्वासको मत लिने तयारी गरेका हुन्।

त्यसका लागि उनले मङ्गलवार अपराह्न ५ बजे नै विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव पेस गर्ने सूचना दिइसकेका छन्। त्यसका लागि बिहान ११ बजे सभामुख नन्दा गुरुङले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले सो बैठक पनि कार्यसूची तयार गरिने र सोही अनुसार सभा सञ्चालन हुने जानकारी दिए। उक्त बैठकले आज दिउँसो चल्ने संसद्को कार्यसूची बनाउँछ। संसदमा सुरुमा मुख्यमन्त्री शर्माले आफ्नो भनाई राख्छन् भने प्रत्येक दलबाट दलका नेताहरुले आ–आफ्ना धारणा राख्नेछन्।

प्रदेश सभामा नेकपा एमाले, माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी, राप्रपा र एक जना स्वतन्त्र सांसद रहेका छन्। आज ७ जनाले नै सभामा सम्बोधन गर्नेछन्।

४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शर्मालाई आवश्यक मत भनेको २१ हो। मुख्यमन्त्रीको दाबी पेस गर्दै गर्दा उनलाई २५ सांसदको समर्थन मिलेको थियो।

संसदमा माओवादीसँग १३, एमालेको १०, एकीकृत समाजवादीको १, राप्रपाको १ सिट रहेको छ। ती मध्ये सभामुख र उपसभामुख चयन भइसकेका छन्। उपसभामुखलाई मतदान अधिकार भएपनि सभामुखलाई भने जुनसुकै बेला मतदान गर्ने अधिकार हुँदैन।

मुख्यमन्त्री शर्मालाई गठबन्धनको बहुमत हुँदा विश्वासको मत पाउन कठिन हुने अवस्था देखिँदैन। दाबी पेसको समयमा समर्थन जनाएको समाजवादीले पनि शर्मालाई विश्वासको मत दिने तयारी थालेको छ।

Share post:

Recent