काठमाडौँ – राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
त्यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीकोतर्फबाट पेश गरेको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित गरिएको छ। बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस भन्ने प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेश गरेका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपरान्ह ५ बजेका लागि बोलाइएको छ।