झापा – पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै सहभागी गराएर झापाकोे काँकडभिट्टास्थित मेचीपुलबाट नागरिक बचाउ महाअभियान सुरु गरेका एमालेका केन्द्रीय सद्सय तथा व्यवसायी दुर्गा प्रसाईँले सो क्रममा आक्रामक भाषण गरेका छन्। ‘मेरी आमा, राजा तथा गुरुहरूलाई साक्षी राखेर’ भन्दै उनले भाषणका क्रममा केही व्यक्तिहरुको नामै किटेर ‘पास्टर’को संज्ञा दिएका छन्।
प्रसाईँले राजनीतिक दलका साथै बैंक तथा वित्तीय संस्थाहरूप्रति आक्रामक हुँदै भाषण गरे। उनले अबको केही दिनपछि बन्द हडतालमा उत्रने समेत चेतावनी दिए। ‘मैले असार मसान्तसम्म बैंकको ब्याज बुझाइसकेको छु। बैंकको ब्याज १८ प्रतिशत २० प्रतिशत पुर्याएको छ। अब कसरी सकिन्छ ? हामी मुक्त हुनका लागि अब साथ दिऔँ,’ उनले भने। सोमबार दियो बालेर अभियान सुरु गरेको जानकारी दिँदै उनले आगामी फागुन ७ गते भैरहवामा, फागुन १० गते धनगढीमा, फागुन १३ गते चितवनमा र फागुन २० गते काठमाडौँमा आन्दोलन गर्ने घोषणा गरे।
बिना सन्दर्भमा आइरहेका हुटिङलाई देखाउँदै उनी भन्थे, ‘एक छिन है भाइ हो , यो भाइहरू लडाकु दस्ता हुन्। कालो मोसो दल्ने। यिनीहरूले बैंकका मेनेजरलाई कालो मोसो दल्छन्। यी ५५ जहाँ भेटिन्छ त्यहाँ। ल एक छिन है मेरा भाइ हो।’
प्रसाईँले प्रहरीसँग नभिड्ने तर, नेपालभरका दोकान बन्द भने गर्ने दाबी गरे। ‘एक महिना, डेढ महिना नेपाल भरिका दोकान बन्द गर्ने। प्रहरीसँग भिड्न नजाने। प्राइभेट बैंकका पैसा झिकेर सरकारी बैंकमा राख्ने। कारोबार नै भएन नि त। त्यसो भएपछि के हुन्छ। भन्सारबाट सामान आएन। कर पनि उठेन,’ उनी भन्छन्, ‘हामीलाई यो अभियानमा कसैले एक रुपैयाँ पैसा दिनुपर्दैन। म देश बाहिर पनि जाँदै छु। जनताले रेमिटेन्स पनि नपठाउनु।’
जनताको पैसा लघुवित्तले सकिदिएको पनि उनले बताए। ‘प्राइभेट बैंक सरकारीकरण नगरीकन म सुत्दिन। २० लाखभन्दा मुनिको ऋण मिनाहा भएपछि मात्रै साउदी, कतारमा भएका मानिसहरू आउनु पर्छ। यसले अशान्ति कायम गर्यो। किन भन्दा लघुवित्त र सहकारीको कारणले,’ प्रसाईँले भने।
उनले रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ सम्पादकको मात्रै कुरा गरेको तर आफूले अरू १२ जना पनि देश बिगार्नेमा रहेको थाहा पाएको बताए। ‘म अर्को कुरा भन्छु। रवि लामिछानेले १२ भाइ भने नि, अरू १२ भाइको नाम छुटाएको छ। यो देशमा स्वास्थ्य, शिक्षा र रोजगार सिद्ध्याउने भनेको कनकमणि दीक्षित हो। केदारभक्त माथेमा, सुशीला कार्की, कल्याण श्रेष्ठ, सञ्जीव उप्रेती, अर्को खगेन्द्र संग्रौला, युग पाठक, नारायण वाग्ले अर्को रवीन्द्र मिश्र हो। यिनीहरू सबै युरोपियन युनियनका पास्टरहरु हुन्। यिनीहरू सबै मिलेर गोविन्द केसी जन्माए,’ उनले आरोप लगाए। उनले अब देश २०४६ साल अगाडि पुग्नुपर्ने बताए। ‘त्यहाँबाट मिस्टेक भएको छ। त्यहीँ जानुपर्छ,’ उनले भने।
‘दुर्गा प्रसाईँसँग राजा कहाँ आउँछन् र भन्छे आउनु त भयो नि ? हिजो मैले हस्पिटल खोल्दा पनि बहुलायो भन्थे। अहिले पनि त्यसै भन्दै छन्। मेरो गीता मार्गदर्शन हो। मैले पाथीभरा मातालाई भनेको छु, यो देश परिवर्तन नगरी मुख देखाउन आउँदिन नि भनेको छु। २०४६ सालमा पुगेर नयाँ संरचना बनाउनु पर्छ। देश विखण्डन भएको छ,’ उनले जिकिर गरे।