काठमाडौं – नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ। सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन्। उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन्।
एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख समान्था पावरले भ्रमणमा आएका थिए।
अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने कार्यक्रम छ। दुईदिने औपचारिक भ्रमण क्रममा उनले नेपाली सेना र सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन्।
‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्य, लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धि अगाडि बढाउने विषयमा छलफल गर्नुहुनेछ,’ दूतावासले भनेको छ।
अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदै छ। यससँगै एक महिना अवधिमा लगातार चार भ्रमण हुनेछन्। अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन्।
राजधानी दैनिकबाट