यो वर्षको स्वास्थ्य सेवा दिवस विशेष रुपमा मनाइने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको स्वास्थ्य सेवा दिवस विशेष रूपमा मनाउने भएको छ। फागुन १५ गते पर्ने दिवसको अवसरमा मन्त्रालयले उत्कृष्ट चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई समेत पुरस्कार वितरण गर्ने भएको छ।

पुरस्कार छनोटका लागि मन्त्रालयले प्रमुख विशेषज्ञ डा. संगीता मिश्राको संयोजकत्वमा ५ जना रहेको कमिटी गठन गरेको हो।

डा. मिश्रा सहित डा. मदन उपाध्याय, डा. वासुदेव उपाध्याय, डा. यदुचन्द्र घिमिरे र नर्सिङ महाशाखा प्रमुख गोमादेवी निरौला छन्। कमिटीले सातै प्रदेशमा परिपत्र गरेको छ। प्रदेशबाट नाम आएपछि कमिटीले पुरस्कार दिनेको नाम टुंगो लगाउनेछ।

मन्त्रालयले यो वर्ष ‘दक्ष जनशक्ति,गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’लाई मूल नारा बनाएको छ। यो वर्ष पनि संघ, प्रदेश तथा स्थानीय तहमा विविध कार्यक्रम आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको छ।

दिवस मनाउनका लागि मुख्य सचिव शंकरदास वैरागीकाे संयोजकत्वमा स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, डा. रोशन पोखरेल, सबै अतिरिक्त सचिव र महानिर्देशक  महाशाखा प्रमुख र केन्द्रीय अस्पतालका प्रमुख स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू रहेको मूल समारोह समिति गठन गरिएको छ।

यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशक संयोजक रहने गरी कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ।

Share post:

Recent