काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बेलाबखत सामाजिक सञ्जालमा आफूले राख्ने गरेका भावनाकाकारण विवादमा परिरहेका हुन्छन्। हिजो सनिबार उनले आफ्नो सामाजिक सञ्जालमा राखेको २ वाक्यको स्टाटसले पनि अहिले बजार तताएको छ। आफूलाई राजीनामा गर्न दबाब आएको आशय व्यक्त गर्दै ‘यो देश बन्न सक्दैन’ भन्ने निष्कर्ष सहितको स्टाटस फेसबुमा राखेका थिए।
यहि स्टाटसलाई लिएर समाजिक सञ्जालमा मजाक गर्ने र आलोचना गर्नेहरुको कमी रहेको छैन। तर धेरैले उक्त स्टाटसमार्फत कसलाई निशाना सोझ्याएका हुन् भन्ने थाहा पाएका छैनन्।
मेयर बालेनका निकट सहयोगी कुमार बेनका अनुसार बालेनले ६-७ दिन अगाडि राखेको स्टाटससँग हिजोको स्टाटस सम्बन्धित रहेको छ। बेनका अनुसार गत १७ फेब्रुअरीमा लेखेको स्टाटसमा बालेनले सार्वजनिक जग्गामा अनधिकृत तवरले बसिरहेका व्यक्तिहरूले डोजर चलाएर खोलाको बाँध भत्काएको र राज्यको माथिल्लो तह निरीह बनेको आरोप लगाएका थिए।
उनले स्टाटलमा लेखेका थिए, “यहाँ मनोहरा आयोजनामा व्यक्तिको जग्गामा अनाधिकृत तवरले बसिरहेका केहि व्यक्तिहरूले खोलाको बाँध (Retaining Wall) भत्काउन डोजर चलाएका छन्। तर राज्यको माथिल्लो तह निरीह भएर बसेको छ। गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौँको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ।”
यस स्टाटसबाट बालेन राज्यको माथिल्लो तह अर्थात् सरकारसँग निकै असन्तुष्ट रहेको स्पष्टै झल्किन्छ। तर उनलाई राजीनामाको दबाबमा कसले पार्यो भन्ने जानकारी आम जनमानसलाई रहेको छैन।
कुमार बेनका अनुसार अनाधिकृतरुपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट दबाब आइरहेको छ। थुप्रै पटक परिवारका सदस्यहरुलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको बेनले बताए।
उनीहरु विरुद्ध थुप्रै पटक प्रहरीमा उजुरी गरिएको भएता पनि सरकार र प्रहरीले कुनै चासो नदिएको र धम्की दिनेहरुनै प्रहरीको अघिपछी हिँडिरहेको बेनले बताए। यी सबै घटनाले बालेनलाई पदमा नबस भन्न खोजिएको भनाइ कुमार बेनको रहेको छ।
सुरक्षा लगायतका थुप्रै कुरामा सरकारले आवश्यक समन्वय नगरिदिएको बालेनको गुनासो रहेको छ।