खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको छ। साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको हो। शवलाई प्रहरीको मुचुल्का उठाएर सतगद गरिएको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले बताए।
शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ। हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ। ओखलढुंगा, सिन्धुली, काभ्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए।
माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ। माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ।
यसै गरी ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २७ वर्षीय मनबहादुर तामाङ सुतेकै ठाउँमा मृत फेला परेका छन्। आफन्तको जन्ती गएका तामाङ सुतेकै ठाउँमा मृत फेला परेको डिएसपी मुकारुङले बताए।