काठमाडौँ – लेखक तथा उपन्यासकार विष्णु ढकालको उपन्यास ‘जौवा’ यहि २०७९ फाल्गुन २० गते शनिबारका दिन लोकार्पण हुने भएको छ। उपन्यासकार ढकालको उक्त उपन्यास शनिबार मध्यान्ह २ बजे बागबजार स्थित ‘हार्दिक होटेल’मा लोकार्पण हुने भएको हो। उक्त उपन्यास शिखा बुक्सले प्रकाशनमा ल्याएको हो।
मध्यविन्दु नगरपालिका -३, नवलपुरमा जन्मिएका ढकाल विगत बीस वर्षभन्दा लामो समयदेखि ग्रामिण विकास तथा ग्रामिण बैङ्किङको क्षेत्रमा आवद्ध रहेका छन्। व्यवस्थापन तथा ग्रामिण विकासमा स्नातकोत्तर गरेका ढकाल आफ्नो लेखनमा ग्रामिण परिवेशलाई उतार्न खप्पिस मानिन्छन्। यस जौवा उपन्यास उनको पहिलो कृति रहेको छ।
ढकालका अनुसार यस उपन्यास तराईका दुर्गम गाउँमा हुने दुर्व्यवहार, उत्पीडन र शोषणमा आधारित रहेको छ। यस उपन्यास तत्कालिन समाज र समयलाई चिहाउने आँखीझ्याल रहेको उनी बताउँछन्। उनले भने, “मध्य तराईको एक गाउँमा घटेका मिहिन घटनालाई आधार बनाई प्रस्तुत गरिएको यस उपन्यासले गरिबी, अभाव, कुचेतना र दुर्दान्त पीडाहरूलाई कथावस्तुमा उनेको छ। किशोर–किशोरी एवं युवाहरूका रहर, सपना, कल्पना, प्रेम, धोका एवं फट्याइँलाई रोचक एवं मिठो शैलीमा व्यक्त गरिएको कथानकले हरेक पाठकलाई आफ्नै बाल्यकालीन स्मृतिमा पुर्याउँदछ।”