जारी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

काठमाडौँ – पपुवा न्युगिनीले नेपाली क्रिकेट टोलीलाई २ सय ४ लक्ष्य दिउको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको जारी खेलमा पपुवा न्युगिनीले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनायो। जसका लागि कप्तान असद भाला र चाड सोपरले समान ३६ रन बनाउँदा सेसे बाउले ३१, किप्लिङ डोरिगाले २९ र नोर्मन भउनाले २५ रन बनाए।

बलिङतर्फ नेपालका गुलसन झाले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र आजकै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका प्रतिश जिसीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

खराब लयमा रहेको पीएनजी लिग २ का पछिल्ला ६ खेलमा लगातार पराजित भएको छ। अर्कोतर्फ नेपाल पछिल्ला ४ खेलमा विजयी भएको छ। तर, पीएनजीविरुद्धको पछिल्लो दुई एकदिवसीय खेलमा भने नेपाल पराजित भएको थियो।

लिग २ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको अझै तेस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहेको छ।

अर्कोतर्फ पुछारमा रहेको पीएनजीको शीर्ष पाँचमा पर्ने सम्भावना पनि टरिसकेको छ। नेपालले २८ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहँदा पीएनजी समान खेलबाट ५ अंक जोड्दै तालिकाको पुछारमा छ।

Share post:

Recent