काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने धारणा दोहोर्याएका छन्। उनले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।
कर्णाली प्रदेशस्तरीय पार्टी कार्यक्रममा सहभागी हुन त्यहाँ गएका अध्यक्षले भने, ‘विचार, सिद्धान्त र कार्यशैली मिलेपछि पार्टी एकता गरिन्छ। तर कसैसँग विलय हुने भन्ने कल्पना पनि गरिँदैन।’
उनले सोही धारणा हिजो जनकपुरमा व्यक्त गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच केही दिनअघि भएको संवादबाट पार्टी नै एकीकृत हुन लागेको भन्ने हल्ला निराधार भएको उनको भनाइ छ।
अध्यक्ष नेपालले पछिल्लो गठबन्धन लोकतन्त्र, गणतन्त्र, संघीयता र राष्ट्रियताको पक्षमा भएको दाबी गरे। राष्ट्रपतिको निर्वाचनमा अस्ति उम्मेदवारको मनोनयनपछि मुलुकको राजनीतिले नयाँ कोर्स लिएको उनको निश्कर्ष छ।