नेम्वाङका लागि मत माग्न एमालेका शीर्ष नेताहरु समाजवादीको कार्यालयमा

काठमाडौँ – नेकपा एमालेका शीर्ष नेताहरु आज एकीकृत समाजवादीको कार्यालय पुगेका छन्। एमालेका शीर्ष नेताहरु समाजवादीका नेताहरुसँग राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत माग्न समाजवादीको कार्यालय नै पुगेका थिए।

यस क्रममा एमाले नेताहरुले अध्यक्ष माधवकुमार नेपालसहित सो पार्टीका पदाधिकारीहरूसँग लामो कुराकानी गरेका छन्। आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा एमाले नेताहरुले मत माग्नुका साथै पार्टी एकताको समेत प्रस्ताव गरीएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए। उनलका अनुसार राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल चलाउने पार्टी निर्णय अनुसार एकीकृत समाजवादीका नेताहरूसँग पहिलो भेटवार्ता गरिएको हो र त यसै क्रममा पार्टी एकताको समेत प्रस्ताव गरीएको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सबै पदाधिकारीसँग कुराकानी गर्दै सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल गरिएको गुरुङले बताए।

‘सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल र आग्रह गर्‍यौँ, कुराकानी सकारात्मक कुरा भयो’, गुरुङले पत्रकारहरुसँग कुरा गर्दै भने,, ‘अव दुई पार्टीबीचको एकता प्रक्रिया अघि बढाउन चुनौतिकाबीचमा अवसर प्राप्त भएको छ। त्यो अवसरलाई अधिकतम प्रयोग गर्नुपर्छ भन्ने कुरा हाम्रोबीचमा एक खालको सहमति भएको छ।’

यसै गरी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुबीच संवादको थालनी भएको र यसले सकारात्मक सन्देश दिएको जानकारी दिए।

एमाले नेताहरु आफ्ना उम्मेद्वारलाई मत माग्न आएका भएता पनि भेटमा एकीकृत समाजवादीका नेताहरूले आफूहरू रामचन्द्र पौडेलको प्रस्तावक भएकाले मत दिन नसक्ने बताएको खतिवडाले जानकारी दिए।

Share post:

Recent