काठमाडौँ – आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ। आजको पहिलो खेल एफसी खुमलटार र फ्रेन्ड्स क्लबबिच दशरथ रंगशालामा हुनेछ।
गत पुस १४ गते एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भए अनुसार आजबाट खेल सुरु हुन लागेको हो।
दिउँसो ४:३०बजे यस लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहने बताइएको छ।
लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल खेलाइनेछ।
लिगमा सङ्कटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिम बिच यसपटक भिडन्त हुनेछ।
यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतका खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन्।