काठमाडौँ – कसैको पेटभित्र रक्सीको बोतल नै भेटिनु निकै आश्चर्यजनक कुरा हो। यो घटना रौतहटको हो। रौतहटको गजुरा नगरपालिका बस्ने २६ वर्षीय एक युवकको पेटमा रक्सीको बोत्तल भेटिएको छ।
२६ वर्षीय नाम खुलाउन नचाहेका युवकलाई आतबार बिहान बेस्सरी पेट दुख्यो। उनका बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए तर औषधीले उनको पेट दुखाइमा कुनै प्रभाव देखाएन। उनलाई झन बढी पेट दुख्न थाल्यो। दुखाइ नघटेर अति नै छट्पटाउन थाले पछि उनका बुवाले उनलाई उपचारका लागि सोमबार चन्द्रपुर अस्पताल पुर्याए।
बिरामीलाई धेरै नै पीडा भएको बताएपछी डाक्टरले आन्द्रा फुटेको आशंकामा एक्स्-रे गाउन लगाए। एक्स्-रेको नतिजा देख्दा डाक्टरहरु आश्चर्यमा परे। कारण थियो बिरामीको पेटमा बोतल देखिनु। लुगा लगाएर गरिएको एक्स्-रेमा उनीहरुले विश्वास गरेनन् र पुन: लुगा खोलेर एक्स्-रे गर्न लगाए। तर नतिजा उस्तै देखियो।
पेट भित्र ठूलै बोतल देखेपछि प्राथमिक उपचार गरेर बिरामीलाई थप उचारका लागि सुविधा सम्पन्न अस्पतालमा लान चिकित्सकले सल्लाह दिए र अस्पतालले रिफर गरेर बिरामीलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पठाइयो।
चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले यस्तो घटना पहिलो पटक देखेको जानकारी दिए। उनले भने, ‘सुरुमा आन्द्रा फुटेको भन्ने ठानेर उपचार सुरु गरेका थियौं, तर एक्स– रे गराउँदा पेटमा सिंगो बोतल नै देखियो।’ उनले सिंगो बोतल नै देखेपछि स्वास्थ्यमा गम्भीर असर पर्ने भएर थप उपचारका लागि अन्यत्र लैजान आग्रह गरेको जानकारी दिए।
अस्पतालका सञ्चालक डा. सुवास चौधरीले सिंगो बोतल नै पेटमा देखिएको र दाहिने तर्फ आन्द्रमा प्वाल परेको एक्स्-रे रिपोर्टमा देखिएको जानकारी दिए। उनले भने, ‘कसले कसरी बोतल हाल्यो भन्ने जानकारी हामीलाई छैन।’
चन्द्रपुर अस्पतालले रिफर गरेपछि विरामीका आफन्तले विरामीलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पतालमा ल्याएका थिए। अस्पतालका सञ्चालक डाक्टर श्यामबाबु पटेलले शल्यक्रिया गर्नुपर्छ भन्दा विरामीका आफन्तले नमानेको बताए। ‘एक्स रे गरेर हेर्दा बिरामीको पेटमा बोतल देखिएको थियो, पेटको सर्जनले शल्यक्रिया गर्नुपर्छ, ज्यानको खतरा हुन्छ भने पनि आफन्तले शल्यक्रियाका गर्न मानेनन्’, उनले भने, ‘उनीहरुको आर्थिक अवस्था पनि कमजोर रहेछ, वीर अस्पताल लैजान सल्लाह दिएको थिएँ।’
त्यसपछि आफन्तले उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरेका थिए। त्यहाँ सर्जन डा. नारायण बेलबासे, एनेस्थेसिया डाक्टर राजेश यादव लगायत चिकित्सक समेतको टोलीले २ घण्टा लगाएर शल्यक्रिया गरेका थिए।
डा. बेलबासेका अनुसार भेन्टिलेटरबाट विरामी आइसीयुमा आईसकेका र बोल्न थालेका छन्। तर पनि विरामी खतरामुक्त भने नरहेको नरहेको उनले बताए।
मलद्वारबाट बोतल पसाएको हुन सक्ने आशंका गर्दै उनले मलद्वारमा कति इन्जुरी छ भन्ने जाँच गर्न बाँकी रहेको बताए। प्रहरीले पनि घटनाबारे ढिलोगरी मात्रै जानकारी पाएको बताएको छ। घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।