राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने औपचारिक निर्णय अब राप्रपा र रास्वपाले लिन नपाउने

काठमाडौँ – राष्ट्रपति निर्वाचन आचारसंहिता सोमबार रातिदेखि लागू भएपछि पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका छन्।  राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरुले औपचारिक निर्णय गर्न नपाउने भएका हुन्।

राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ। कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल संस्थागत रूपमा पौडेलको पक्षमा उभिएको अवस्था छ।

यता एमालेले पौडेलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा पठाएको छ। नेम्वाङलाई मौनअवधिसम्म एमाले बाहेकका दलको समर्थन छैन। राष्ट्रपतिका दुई उम्मेदवार पौडेल र नेम्वाङमध्ये कसलाई मत दिने भनेर  राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले कित्ता क्लियर नगरेको अवस्था छ।

राप्रपाले यसबारे निर्णय लिन बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले पनि २५ गते विहान बैठक बसेर निर्णय लिने बताएका छन्। तर राष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण अब उनीहरुले कित्ता क्लियर गर्ने नपाउने प्रमुख निर्वाचन आयोग आयुक्त दिनेश थपलियाले जानकारी दिए।

उनका अनुसार फागुन १७ गतेबाट राष्ट्रपति निर्वाचनको आचारसंहिता लागिसकेको हुनाले अब कुनै पनि राजनीतिक पार्टीले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैन। कसैको पक्षमा उभिने कुरा प्रचार हुने र प्रचार गर्न नपाउने जानकारी समेत उनले दिए।

कुनै दलले पक्षधरता देखाएर निर्णय लिएमा आयोगले प्रस्टीकरण सोध्ने थपलियाले बताए।

उनका अनुसार राष्ट्रपति र उपनिर्वाचनका लागि निर्वाचन आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता जारी गरेको छ।

Share post:

Recent