आज राष्‍ट्रपति निर्वाचनमा दुई पूर्वसभामुखको भिडन्त

काठमाडौँ – देशको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ। राष्ट्पति निर्वाचनमा आज देशका दुई पूर्वसभामुख नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्बाङबिच भिडन्त हुने भएको हो। मतदान प्रक्रिया आज पूर्वाह्न १० बजे देखि मध्याह्न ३ बजेसम्म चल्नेछ।

सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्।

निर्वाचन अधिकृत महेशराज पौडेलका अनसार मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मात्र मतदान गर्न पाउनेछन्। तीन बजे पछि उपस्थित मतदाताहरु भने मतदानबाट बञ्चित हुनेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन्। आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ।

निर्वाचन अधिकृत पौडेलले भने, ‘मतपत्र छपाई गरेर आयोगले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पठाइसकेको छ। मतपत्रमा सम्बन्धित उम्मेदवारको नाम र तस्बिर हुन्छ। मतपत्रको कोठाभित्र स्वस्तिक छाप लगाएर मत संकेत गर्नुपर्ने हुन्छ।’

मतपत्रमा स्वस्तिक बाहेक अन्य चिह्न लगाए वा ‘ठिक’ चिह्न लगाएमा मतपत्र बदर हुने उनलेले जानकारी दिए।

मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरेको उनले बताए।

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

Share post:

Recent