प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने, कस्तो आउला सर्वोच्चको निर्णय?

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार रिट दायर गरेका थिए। २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित सार्वजनिक कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै निवेदकले रिट दायर गरेका हुन्।

उक्त अभिव्यक्तिमा कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने बताएका थिए।

सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) निर्णय गरेको थियो। त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गराएका थिए।

यसैक्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा नियमित अदालतमा हेर्न नहुने भन्दै प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनहरुले रिट दर्ताको विरोध गर्दै आएका छन्। विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्नुपर्ने उनीहरुको माग रहेको छ।

सत्ता साझेदार दल, माओवादी धारका ८ पार्टी र कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले पनि प्रचण्ड विरुद्ध दायर भएको रिटको विरोध जनाएका छन्।

Share post:

Recent