काठमाडौँ – उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको बताउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। यादवले सोमबार एक वक्तव्य जारी गरी उम्मेदवार फिर्ता लिएको घोषणा गरिन्।
राष्ट्रियसभाका सदस्य समेत रहेका यादवको वक्तव्यमा भनिएको छ– ‘प्राविधिक रूपमा उम्मेदवारको नामावलीको सूचीमा मेरो नाम रहन गएको भए तापनि म रामसहायप्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’
उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आइतबार प्रमिलाकुमारी यादवसँगै चार जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो। आज मंगलबार बस्ने १० दलीय सत्तागठबन्धनले यादवलाई आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ। सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादवसँग जनमत पार्टीका ममता झाको पनि उम्मेदवारी रहेको छ।