प्रधानमन्त्री प्रचण्डले जनमत गुमाइसकेका छन् : मोहन वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दावी गरेका छन्।

राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए।

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायतका सत्ता र त्यसका अवयव ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘यो सत्ता र यसका अवयवलाई पूरै फ्याँक्नुपर्छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै असफल भएको देख्यौँ।’

उनले कम्युनिष्ट आन्दोलनका नेताहरूलाई गद्दारहरू भन्नुपर्ने अवस्था आएको स्पष्ट पारे। कम्युनिष्ट आन्दोलन गर्नेहरू नै गनाएर बसेको लास जस्तै पुरानो सत्तालाई काँध थापेको वैद्यको कथन छ।

उनले भने‚ ‘चुनावमा जाने वेला गठबन्धन बनाए। प्रतिगमनविरुद्ध जाने हो, संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर काँग्रेस–माओवादी केन्द्रहरू एकदम कुर्लिएर गए। सरकार बनाउने वेला त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाए। योभन्दा विचित्र के हुन्छ? एमालेसँग बसेर त्यो सरकार टिकाउनुपर्ने हो नि फेरि। त्यो पनि टिकाउन नसकेर फेरि फर्किए काँग्रेसतिर।’

महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि काँग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरूलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए।

उनले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेको समेत बताए।

Share post:

Recent