ओलीको चर्को आलोचना

पोखरा । नेकपा (एमाले)को दुईमहिने ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत शनिबार मुस्ताङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरियो । यतिसम्म कि एमाले मुस्ताङकै पदाधिकारीले ‘ओलीले अभिव्यक्ति नसच्याए ग्रासरुट कार्यक्रम नै बहिष्कार गर्ने’ चेतावनी दिए ।

हिमालपारिको जिल्ला मुस्ताङमा शनिबारदेखि ग्रासरुट अभियान सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले कार्यक्रमको उद्घाटन गरे । त्यहीँ स्थानीय एमालेपंक्ति नेतृत्वको अभिव्यक्तिलाई लिएर आलोचनामा उत्रियो ।

मुस्ताङमा बौद्ध कलेज खोल्ने विषयमा अध्यक्ष ओलीले यसअघि सरकारको कडा आलोचना गर्दै आएका थिए । त्यही बारेमा त्यहाँ असन्तुष्टि जनाइएको हो ।

मुस्ताङमा खोल्ने भनिएको बौद्ध कलेजका विषयमा एक कार्यक्रमका क्रममा ओलीले दिएको अभिव्यक्ति यस्तो थियो–
“मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनमाथिको गद्दारी हो । ०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो । आफ्नै मुलुकको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वाधीनतालाई अस्वीकार गरेको हो । विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ ? विश्वविद्यालयका नाममा अर्थाेकै गर्न खोजेको हो । विदेशीको खेलमैदान बनाउन खोजेको । त्यसको युरेनियम, त्यसमा ध्यान दिएको । त्यहाँबाट पहिले ०३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो । त्यही कुरा मार्फाको छेउबाट अब लिएर जाने– लोमान्थाङभन्दा माथि । जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय ! भनेको त्यो खास उद्देश्यका ‘पेड’ मान्छेहरू, खास उद्देश्यका मान्छेहरू मात्रै बस्छन् त्यहाँ । यो एउटा बहुतै खतरनाक कुरा हो । यस्ता अनेक कुराहरू छन्, यी हाम्रा कमन कुराहरू हुन । राष्ट्रिय हितका–पक्षका कुराहरू हामीले उठाउनुपर्छ र त्यसका सन्दर्भमा लड्नुपर्छ ।”

उनको यही अभिव्यक्तिप्रति कार्यक्रममा चर्को आलोचना गरियो । ओलीको उक्त अभिव्यक्तिको गण्डकीका पूर्वसांसद इन्द्रधारा ढाडु विष्टले यसअघि नै खण्डन गरेका थिए ।

Share post:

Recent