काठमाडौं । फिनल्यान्डको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री सान्ना मारिनको सोसल डेमोक्रेटिक पार्टी (एसडीपी)लाई पछि पार्दै पेटेरी ओर्पोको राष्ट्रिय गठबन्धन पार्टीले जित हात पारेको छ ।
राष्ट्रिय गठबन्धन पार्टीका लिडर ओर्पाेले जितपछि बोल्दै “हामीले सबैभन्दा ठूलो जनादेश पायौँ” भनेका छन् ।
ओर्पाेको पार्टीले २०.८ प्रतिशत मत पाएको छ । यस्तै, दोस्रो नम्बरमा आएको फिन्स पार्टीले २०.१ र मारिनको एसडीपीले १९.९ प्रतिशत मत पाएको बीबीसीले लेखेको छ ।
चुनावमा यी तीनै दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो ।
२०० प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वानमा राष्ट्रिय गठबन्धन पार्टीले ४८, फिन्स पार्टीले ४६ र एसडीपीले ४३ सिट जितेको छ । सेन्टर पार्टीले २३ र ग्रिन लिगले १३ तथा बाँकी सिट अन्य दलहरुसँग छ ।
४८ सिट जितेको राष्ट्रिय गठबन्धन पार्टीका लिडर ओर्पोसँग अब सरकार बनाउन दुईवटा विकल्पहरू छन् । उनले या त रिक्का पुराको राष्ट्रवादी फिन्स पार्टीसँग दक्षिणपन्थी गठबन्धन बनाउनु पर्नेछ वा सान्ना मारिनको सोसल डेमोक्र्याटसँग सम्झौता गर्नुपर्नेछ ।
सन् २०१९ को निर्वाचनमा एसडीपीले ४०, फिन्सले ३९ र राष्ट्रिय गठबन्धनले ३८ सिट जितेको थियो । पहिलो नम्बरमा आएको एसडीपीबाट अन्य पाँच महिला नेतृत्वमा रहेका दलहरुसँग ठगबन्धन सरकार बनाउँदै ३४ वर्षीया मारिन विश्वकै कान्छी महिला प्रधानमन्त्री बनेकी थिइन् ।