पीएसजीको उपाधि होडमा धक्का

काठमाडौं । लियोनल मेसी र काइलियन एमबाप्पेजस्ता स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी)को फ्रेन्च लिग वानको उपाधि यात्रामा आइतबार राति अर्को धक्का लागेको छ । साविक विजेता पीएसजी गए राति लियोनसँग १–० ले स्तब्ध भएको हो ।

फ्रेन्च कप र च्याम्पियन्स लिगबाट बाहिरिइसकेको पीएसजीका निम्ति निराशाजनक सिजन जोगाउनका लागि लिग उपाधि एक मात्र विकल्प छ । तर, लियोनसँगको हारपछि पीएसजी ६ अंकले मात्र अगाडि छ । लिगमा पीएसजीको यो लगातार दोस्रो हार हो । अघिल्लो साता पीएसजी रेनेससँग २–० ले पराजित भएको थियो ।

‘‘यस नतिजाले निराश र क्रोधित बनाएको छ । किनकि, गोलका थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेनौँ । टिमले क्षमताअनुसार प्रदर्शन गर्न सकेन,’’ पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरले भने, ‘‘योजनाअनुसार खेलाडीले खेलेनन् । जितका लागि प्रयास नै गरेनौँ ।’’

पाहुना टोली लियोनले ३९औँ मिनेटमा अग्रता लिने राम्रो मौका गुमाएको थियो । एलेक्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्ने मौका खेर फालेका थिए । ५६औँ मिनेटमा ब्राडले बारकोलाले गरेको गोल लियोनको जितमा निर्णायक बन्यो ।जितपछि लियोनले २९ खेलबाट ४४ अंक जोडेको छ । लियोन नवौँ स्थानमा छ । पीएसजी ६६ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । समान ६० अंक जोडेका लेन्स र मार्से क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लेन्सले शनिबार राति रेनेसलाई १–० ले हराएको थियो । मार्सेले शुक्रबार राति मोन्टपेलियरसँग १–१ को बराबरी खेलेको थियो ।

Share post:

Recent